चौताराका किसानको उत्पादन सङ्कलन केन्द्रमा

चौताराका किसानको उत्पादन सङ्कलन केन्द्रमा

कहिरन समाचार

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारा बजारको मुख्य स्थानमा केन्द्र स्थापना गरिएको हो ।

तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै चौतारा साँगाचोकगढी नगरपालिकाले किसानबाट खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्धसमेत मिलाइएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

तरकारी सङ्कलन केन्द्र सञ्चालनको जिम्मेवारी कृष्णबहादुर श्रेष्ठलाई दिइएको छ । सङ्कलन केन्द्रमा किसानद्वारा उत्पादित गोलभेँडा, काँक्रो, साग, करेला, सिमीलगायत तरकारी राखिएको छ । सङ्कलन केन्द्रमा दुई सय किलो गोलभेँडा राखिएको छ ।

किसानले तरकारीको मूल्य भने बजार मूल्यअनुसार नै पाउनेछन् । यसका लागि बिक्रेता किसानको कुनै पनि बैङ्कमा अनिवार्य खाता सञ्चालन भएको हुनुपर्ने छ ।

किसानबाट खरिद गरेको तरकारीलगायत उत्पादनको मूल्य हरेक १५ दिनमा किसानको खातामा नगरपालिकाले जम्मा गर्ने नगरप्रमुख सापकोटाले बताए । किसानको उत्पादन नगरपालिकामार्फत श्रेष्ठले खरिद गर्नेछन् । ‘किसानले कुनै पनि उत्पादन बिक्री भएन भनेर फाल्नुपर्ने अवस्था आउने छैन’, उनले भने ।

किसानका सबै उत्पादन खरिद गरी स्थानीय बजारमा खपत नभए राजधानी काठमाडौंसम्म लैजाने प्रबन्ध मिलाइएको सापकोटाले बताए । नगरपालिकाले चाँडै कृषि एम्बुलेन्सको व्यवस्था गर्न लागेको छ ।