बेटिङ प्रचारमा पक्राउ परेका कलाकार तीन दिन हिरातमा रहने

बेटिङ प्रचारमा पक्राउ परेका कलाकार तीन दिन हिरातमा रहने

कहिरन समाचार

काठमाडौं । अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबर तीन दिन हिरातमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरी टोलीले बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको थियो । यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।

उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको प्रहरीको दाबी छ ।

प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएकाले उनीहरूलाई पक्राउ गरिएको रेग्मीले बताए ।

उनले पक्राउ परेकाहरूमाथि जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुने जानकारी दिए । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ ।

धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।