लम्पी स्किन रोग तत्काल रोकथाम गर्न र किसानलाई राहत दिन माग

लम्पी स्किन रोग तत्काल रोकथाम गर्न र किसानलाई राहत दिन माग

कहिरन समाचार

काठमाडौं । नेपाल डेरि एसोसियसनले लम्पी स्किन रोग तत्काल रोकथाम गर्न र किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । एसोसियसनले बिहीबार विज्ञप्ति जारी गर्दै सम्बन्धित निकाय र सबै स्थानिय सरकारहरुलाई तत्काल रोग नियन्त्रण तथा किसानलाई राहत उपलब्ध गराउन अनुरोध गरेको हो ।

ठूलो क्षति हुँदा पनि सम्बन्धित निकायले किसानको गोठमा अझ पुग्न नसकेको र क्षति भएको ठाउँमा किसानलाई राहत दिन नसकेको एसोसियसनले गुनासो गरेको छ । सम्बन्धित निकाय केन्द्रदेखि स्थानीय तहसम्म सबैलाई यो अहिलेको अवस्थालाई गम्भीर रुपमा लिन र यथासम्भव नोक्सानी भएको ठाउँमा किसानलाई राहत उपलब्ध गराउन एसोसियसनले माग गरेको छ ।

रोगले नछोएको स्थानमा रोकथामका लागि तत्काल भ्याक्सिन लगाई सुरक्षित रहन सहयोग गर्न सबैलाई नेपाल डेरी एसोसिएसनले अनुरोध गर्दै एसोसिएसनले पनि आफ्नो नेटवर्क भएका स्थानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

चालु आर्थिक वर्षको गत माघ महिनामा पहिलो पटक झापाबाट शुरु भएको यो रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । हालसम्म ७३ जिल्लामा फैलिसकेको यो रोगबाट तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् ।