‘अन्तरराष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल सहभागी हुने

‘अन्तरराष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल सहभागी हुने

कहिरन समाचार

काठमाडौं । साउदी अरबको पवित्र सहर मक्कामा आयोजना हुने ‘अन्तरराष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ । मुस्लिम आयोगले कुरान वाचन प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एकजना छनोटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ ।

आयोगले सरकारमा दर्ता भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो । त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरुमध्येबाट उत्कृष्ट एक जनाको छनोट गरी सो प्रतियोगितामा सहभागी गराउन लागिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताएका छन् ।

प्रतियोगिता आगामी भदौ ८ गतेदेखि २० गतेसम्म हुनेछ । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट १/१ जना प्रतियोगी सहभागी हुनेछन् । त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगदसहितको पुरस्कार दिने आयोगले जनाएको छ ।