‘भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ छ, गलत सम्झौता हुदैन’

‘भ्रष्टाचार नियन्त्रणमा सरकार दृढ छ, गलत सम्झौता हुदैन’

कहिरन समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् ।

बुधबार बिहान पूर्वशिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डीआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनका लागि दृढतापूर्वक अगाडि बढेको बताएका हुन् ।

‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ । कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन’, उनले भने ।

पूर्वमन्त्री पौडेलको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘उहाँलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ । उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो । डिआरको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको छ ।’

साथै प्रधानमन्त्री प्रचण्डले स्मृति कार्यक्रमअघि बालुवाटारमा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको भेटमा भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताए ।

उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा छ ।’

त्यस्तै प्रधानमन्त्री दाहालले नयाँ ढंगले कम्युनिस्ट आन्दोलन अगाडि बढाउन समाजवादी मोर्चा बनाउने पनि बताए । उनले भने, नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनेमा छौँ । हामी समाजवादी मोर्चा बनाउँदैछौँ । समाजवादको मौलिक बाटो खोजिरहेका छौँ ।