बाढीले कल्भर्ट बगायो, बेनी-जोमसोम सडक अवरुद्ध

बाढीले कल्भर्ट बगायो, बेनी-जोमसोम सडक अवरुद्ध

कहिरन समाचार

म्याग्दी । गएराति आएको बाढीले कल्भर्ट बगाउँदा म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल गएराति आएको बाढीले बगाएको हो ।

कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडकमा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बाटोमै रोकिएका छन् ।

जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट भत्काएको थियो । कल्भर्ट भत्काएपछि ह्युमपाइप राखेर अस्थायी रूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । फेरि गएराति आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो ।

७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ । आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदूर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताए ।