पाँचखालमा नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम बन्ने

पाँचखालमा नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम बन्ने

कहिरन समाचार

काठमाडौं । नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उद्योग औद्योगिक ग्राम (पार्क) बारे जानकारी गराएको हो ।

दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क बनाउन लागेको हो । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो ।

“पाँचखाल नगरपालिकामा रहेको औद्यागिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय सरकारले गरेको छ । महिला उद्यमी र हरित अर्थतन्त्रका लागि यो औद्योगिक पार्क स्थापना हुनु सकारात्मक रहेको छ र अन्य छ वटा प्रदेशमा पनि यस्तै प्रकृतिका पार्क स्थापनाका लागि हरित औद्योगिक पार्क ऐन ल्याउन आवश्यक छ” दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले भने ।

उनले लघु, साना र मझौला महिला उद्यमीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने यस्ता आयोजना कार्यान्वयनमा जोड दिएर राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको भूमिका बढाउनुपर्ने समेत बताए ।

महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले पाँचखाल नगरपालिकाको होक्सेमा शुरु भएको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क परियोजनाबारे प्रस्तुतीकरण गरे । प्रदुषणमुक्त, फोहरमैला व्यवस्थापन र फोहोर पानीको पुनरप्रयोग, ऊर्जा संरक्षणका लागि साझा योजना, स्थानीय सामग्रीको प्रयोग गरी बनाइएको भवनलगायतका विशेषताबारे उनले प्रकाश पारे ।

नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूल बनाउनका लागि ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ लाई ब्रान्डका रूपमा प्रचार गरिने जनाइएको छ । यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो । यो औद्योगिक पार्कमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रीत सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने जनाइएको छ ।

महिला उद्यमशीलतालाई बढावा दिने उद्देश्यले स्थापित दक्षिण एसियाली महिला विकास मञ्च सार्क मान्यताप्राप्त संस्था हो भने यो संस्थाले संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्को रूपमा मान्यता पाएको छ ।