काठमाण्डौ उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने

काठमाण्डौ उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने

कहिरन समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउन यहाँका पहाडमा एक सय ९८ वटा पोखरी बनाइने भएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए ।

अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्ण रूपमा सुक्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए। उनले भने, ‘नदी पूर्ण रूपमा सुक्खा हुँदा पानी प्रशोधन हुँदैन । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ ।’

गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले जानकारी दिए ।

बागमती करिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बागमती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधिक गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ ।

बागमती सफा गर्नका लागि ठोस मात्रै फोहोर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छ्याएर प्रशोधन गरिनुपर्ने उनले प्रस्ट पारे । बागमतीमा ढल निर्माण भए पनि त्यसमा मिसिने अरू खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उनले बताए । बागमतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बागमती सफा नहुने देखिएको छ ।

समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हुँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ । समितिले बागमतीको उदगमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ ।

बागमती नदी सफा बनाउने उद्देश्यले समिति स्थापना भए पनि पछि यसको कार्यक्षेत्र विस्तार भएर सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माणमा लागेको थियो । पशुपति क्षेत्रको वातावरण सुधारका लागि ०५१ चैत २८ गते यसको स्थापना भएको थियो । सुरुमा कार्यान्वयन र अनुगमन समितिका रूपमा स्थापना भएकामा ०६५ साल जेठमा यसलाई अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति नामकरण गरिएको थियो ।