प्रस्तावित प्रधानन्यायाधीशमाथि ३२ जेठमा संसदीय सुनुवाइ हुने

प्रस्तावित प्रधानन्यायाधीशमाथि ३२ जेठमा संसदीय सुनुवाइ हुने

कहिरन समाचार

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमा ३२ जेठमा सुनुवाइ हुने भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले ३२ जेठमा सुनुवाइ गर्ने निर्णय गरेको हो ।

कार्कीविरुद्ध जेठ १६ गते १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रक्रिया अगाडि बढेको थियो । उनीविरुद्ध २९ वटा उजुरी परेका छन् ।

समितिले ३१ गते उजुरीकर्तासँग छलफल गरी ३२ गते कार्कीलाई समितिको बैठकमा बोलाउनेछ । १ असारमा थप छलफलपछि अन्तिम निर्णय लिइनेछ । सुनुवाइबाट अनुमोदन भए कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन्  । यद्यपि, ६५ वर्षे उमेरहदका कारण १९ साउनसम्म मात्रै उनको सेवावधि हुनेछ ।

१ फागुन ०७८ मा महाभियोग दर्ता भएलगत्तै निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २७ मंसिरमा अवकाश पाएका थिए । जबरा निलम्बन परेलगत्तै कामु प्रधानन्यायाधीश बनेका दीपक कार्कीले पनि १५ असोजमा अवकाश लिए  । त्यसपछि कार्कीले कामुको जिम्मेवारी पाएका थिए  ।