बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसः बालश्रम अन्त्य कागजमै सीमित

बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसः बालश्रम अन्त्य कागजमै सीमित

कहिरन समाचार

काठमाडौं । आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस । बाल श्रम हटाउनका लागि आवश्यक काम र प्रयासहरूमा ध्यान केन्द्रित गर्दै प्रत्येक वर्ष १२ जुनमा दिवस मनाइन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २००२ बाट यो दिवस मनाउन थालेको हो । नेपालमा बालश्रम घट्दै गए पनि धेरै बालबालिका अझै बालश्रममा छन् । श्रम सर्वेक्षण २०७८ का अनुसार नेपालमा बालश्रम प्रतिवेदन पाँचदेखि १८ वर्षसम्मका बालबालिकामध्ये १५.३ प्रतिशत श्रममा संलग्न रहेको देखिन्छ ।

नेपालको संविधानले बालश्रम प्रयोगलाई निषेध गरिसकेको छ । नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकारप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ तर कार्यान्वयन पक्ष फितलो छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँच वर्ष पहिले राष्ट्रिय गुरुयोजना जारी गर्दै २०७९ सम्ममा निकृष्ट प्रकार तथा शोषणयुक्त बालश्रम अन्त्य गर्ने र २०८२ सालसम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने योजनाका साथ काम गरेको छ । सबै प्रकृतिका बालश्रम र औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने ५–१७ वर्ष उमेर समूहका बालबालिकालाई गुरुयोजनाले समेटेको छ ।

श्रम मन्त्रालयले गुरुयोजना अनुसार बालश्रम अन्त्य गर्नका लागि स्थानीय तह केन्द्रित गरेर विगत चार वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ देखि १०४ वटा पालिकामा बालश्रम निषेध गर्ने कार्यक्रम सञ्चालन गरिएकामा दुई वटा पालिका मात्रै पूर्ण रूपमा बालश्रम मुक्त भएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको तथ्यांकअनुसार विश्वभर १५ करोड २० लाख बालबालिका श्रममा संलग्न छन् । त्यसमध्ये सात करोड ३० लाख बालबालिका जोखिमपूर्ण श्रममा लागेका छन् ।