सर्लाहीमा दाइजोको निहुँमा दुई महिलाको हत्या

सर्लाहीमा दाइजोको निहुँमा दुई महिलाको हत्या

कहिरन समाचार

काठमाडौं । सर्लाहीमा दाइजोलाई लिएर दुई महिलाको हत्या भएको छ । सर्लाहीको हरिपुर नगरपालिका–३ स्थित फरहदवा र वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो ।

फरहदवाका अब्दुल साह फकिरले २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट एक लाख नल्याएको भन्दै पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । झुण्डिएको अवस्थामा भेटिएकी खातुनको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको माइती पक्षले दावी गरेको छ ।

घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै वडा नं ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । ४५ वर्षिया इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ ।

दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए ।

शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।