प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकियो

प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकियो

कहिरन समाचार

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सकिएको छ । प्रतिनिधिसभामा गत सोमबार सुरु भएको बजेटमाथिको छलफलमा आजसम्म ठिक एक सातामा सांसदले बोल्ने क्रम सकिएको छ ।

आइतबार अन्तिम दिनको छलफलमा पनि सांसदहरुले बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेटमा तालमेल नदेखिएको टिप्पणी गरेका छन् । वर्तमान आर्थिक समस्याको दीर्घकालीन समाधान खोज्ने र वितरणमुखी कार्यक्रमलाई निरुत्साहित हुनेगरी बजेट आएको उनीहरुको टिप्पणी छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रकै सांसद महेन्द्रबहादुर शाहीले बजेट सन्तुलित नरहेको बताए । विकास पूर्वाधारमा पछि परेको कर्णाली क्षेत्रमा बजेट कम भएको गुनासो गर्दै उनले कर्णालीको विकास र समृद्धिका लागि बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

अब बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा.प्रकाशशरण महतले भोलिको बैठकमा दिने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

अर्थमन्त्री महतले गत जेठ १५ गते पेश गरेको २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि एक सातापछि संसदमा छलफल थालिएको थियो ।