सुनचाँदी, पर्यटन र हवाई सेवामा थपिएको कर खारेज गर्न माग

सुनचाँदी, पर्यटन र हवाई सेवामा थपिएको कर खारेज गर्न माग

कहिरन समाचार

काठमाडौं । व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेटमार्फत थपिएका करका दरप्रति असन्तुष्टि जनाउँदै सुनचाँदी, पर्यटन हवाई सेवाको कर खारेज गर्न माग गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर पर्यटन क्षेत्रका १५ वटा व्यवसायिक संगठनले यस्तो माग गरेका हुन्

व्यवसायीहरुले कोरोना महामारीपछि लयमा फर्किन खोजेको पर्यटन क्षेत्रमा भ्याट लगाएर यो क्षेत्रलाई नै धरासायी बनाउन खोजेको भन्दै उनीहरुले भ्याट फिर्ता नभए सरकारलाई सबै उद्योग व्यवसायको चावी बुझाउने चेतावनीसमेत दिएका छन् । भ्याट लगाउँदा विदेशी पर्यटकको टुर प्याकेज महंगो हुने भन्दै व्यवसायीले नेपाल भ्रमणबाट निरुत्साहित हुने बताएका छन् ।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, टुर तथा सफारी प्याकेज कम्तिमा १ वर्ष अगाडीबाटै बुकिङ गरी सोअनुसारको मूल्य राखिने गरेको भन्दै नयाँ थप भएका कर र शुल्कले व्यवसायी मारमा पर्ने उनीहरुको भनाइ छ । व्यवसायीले पर्यटकको सवारीको हकमा सवारी साधनको पूर्ण फिटनेश जाँच गरी ३० वर्षे आयु कायम गर्न समेत माग गरेका छन् ।

सम्मेलनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले करका दर हेरफेर गर्दा सरकारले छलफल नै नगरेको भन्दै नेपालमा फ्लाइट भ्याट बढाइएकोप्रति असन्तुष्टि जनाए । रिजालले भने, ‘हामीले कर, भ्याटको कुरा धेरै पहिलेदेखि नै उठाउँदै आएको कुरा हो । आरोहणको क्षेत्रमा खच्चर प्रयोग गर्नुपर्छ । होटलहरु करको सिस्टममा गएको छैन् । त्यो बिल हामीले ल्याउनु पर्छ । प्यानमा दर्ता छैन् ।’ उनले पर्यटन क्षेत्रसँग बसेर छलफल गरी भ्याट लागू गर्दा सबैलाई सहज हुने बताए ।

ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष निलहरि बाँस्तोलाले व्यापार बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले पर्यटन व्यवसायीहरु साँचो सरकारलाई बुझाउने अवस्थामा पुगिसकेको बताए ।

बाँस्तोलाले भने, ‘सरकारले जसरी बजेटमार्फत भ्याट लगाएको छ, यो गलत छ । छिटोभन्दा छिटो यसलाई हटाएर व्यवसायीको हितमा निर्णय गर्न आवश्यक छ । नभए अघि बढ्न खोजेको पर्यटन क्षेत्र धरासायी हुनेछ । व्यवसायीहरुले अप्रिय कदम चाल्नुपर्ने अवस्था आउने छ ।’

नेपाल एसोसिएसन अफ याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले सरकारले विज्ञ टोलीमार्फत अध्ययन गरेर पर्यटन क्षेत्रमा भ्याटमा बहुदर लागू गर्न सकिने बताए । उनले त्यसरी भ्याट लगाउँदा एक बर्षअघि नै सरकारले घोषणा गर्नुपर्ने बताए ।

पर्यटन व्यवसायीले माफ्नो माग पुरा नभए दवावमुलक कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् ।

यस्तै नेपाल सुनचाँदी व्यववसायी महासंघले छुट्टै पत्रकार सम्मेलन गरेर सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि भएकोप्रति विरोध जनाउँदै महासंघले सुनचाँदी भन्सार दरलाई पुनरावलोकन गरी डब्ल्युटिओको प्रावधान अनुरुप हुनेगरी खुला आयात नीति लागू गर्न माग गरेको छ ।

सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने र त्यसमा पनि रसायन सहितका गरगहना हुनुपर्ने विभेदकारी नीति अवलम्बन गरेकोप्रति पनि महासंघले आपत्ति जनाएको छ ।

महासंघको अध्यक्ष मणिकरत्न शाक्यले विभिन्न बहानामा व्यवसायी र आम उपभोक्तामाथि सरकारले कर थोपर्ने नीति लिएकोले मजदुर र व्यवसायी दुबैको जीविकोपार्जन धरासायी बनेको बताए ।