राष्ट्रियसभामा बजेटमाथिको छलफल सम्पन्न

राष्ट्रियसभामा बजेटमाथिको छलफल सम्पन्न

कहिरन समाचार

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथिको सामान्य छलफल सकिएको छ ।

गत बुधबारबाट सुरु भएको छलफलमा सांसदहरुले धारणा राख्ने क्रम सकिए पछि आज अर्थमन्त्री डा प्रकाससरण महतले जवाफ दिएसँगै दुई साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक असार १० गते बस्नेछ ।

प्रतिनिधिसभा बैठकमा भने बजेटमाथिको छलफल पर्सि आइतबार सकिने भएको छ । प्रतिनिधिसभामा सोमबार सुरु भएको बजेटमाथिको छलफलमा बोल्न बाँकी सांसदले धारणा राखेपछि आइतबार अर्थमन्त्री महतले जवाफ दिने तालिका छ ।

सरकारले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गरेको थियो ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री महतले सांसदका प्रश्नको जवाफ दिने क्रममा गाँजा खेतिको सम्भावनाबारे कुरा गर्दा नबुझेरै विरोध गरिएको गुनासो गरेका छन् ।

दातृ निकाय अर्थात ठूला देशले हिजोका दिनमा गाँजा नरोखे सहायता नदिने धम्कि दिए पछि सरकारले कानुन बनाएर रोकेको सुनाए । हाम्रो संस्कृतीको रुपमा रहेको गाँजा रोक्ने देशहरुले नै अहिले गाँजाबाटै प्रगति गरिसकेको दाबी गर्दै उनले नेपालमा यसको नामै लिन हुन्न भन्ने ढङ्गले तर्क गरिएको बताए ।

प्रतिनिधिसभामा एमाले सचेतक महेश बर्तौलाले यदी गाँजाप्रति सरकार सकरात्मक हो भने जेलमा रहेका नेपालीलाई निकाल्न आग्रह गरे । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले बजेटप्रति असन्तुष्टि जनाउँदै रोष्ट्रममै मौन धारण गरेका थिए ।