विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलनको तयारीमा आयोग

विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलनको तयारीमा आयोग

कहिरन समाचार

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । शुक्रबार राजनीतिक दलसँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे जानकारी दिएका हुन् ।

नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन गर्ने कार्यको शुरूआत गर्ने व्यवस्था मिलाउन लागिएको थपलियाले बताए । उनका अनुसार विदेशमा रहेका नागरिकले अनलाइन मार्फत नेपालमा स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी ‘प्रि-रजिस्ट्रेशन’ गरिने भएको छ ।

यसका लागि सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगमा व्यक्ति स्वयं उपस्थित भई तस्वीर र औंंठाछाप दिने व्यवस्था मिलाइनेछ । यसका लागि नेपाल सरकारले विदेशमा मतदाता नामावली सङ्कलन गर्न सैद्धान्तिक सहमति दिने, आवश्यक स्रोतसाधन उपलब्ध गराउने र कूटनीतिक पहल गरिदिनुपर्ने आयोगले जनाएको छ ।

आयोगले यस कार्यमा कूटनीतिक नियोगकै कर्मचारी परिचालन गर्ने योजना बनाएको छ । परराष्ट्र मन्त्रालयसँगको समन्वयमा सम्बन्धित देशको कूटनीतिक नियोगका अधिकृत स्तरका कर्मचारीलाई नाम दर्ता अधिकारी र सहायक स्तरका कर्मचारीलाई दर्ता कर्मचारी तोक्न आवश्यक व्यवस्था मिलाइने भएको छ ।

सक्कल नागरिकता साथमा नभएमा राहदानीलाई परिचयपत्रका रूपमा लिई तस्वीर र औंठाछाप दिन मिल्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

यससँगै आयोगले राजनीतिक दलसँगको छलफलमा जिल्ला कार्यालय राख्नुपर्नेमा जोड दिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा आयोगका जिल्ला कार्यालय हटाउने जनाएको थियो ।

त्यस्तै, निर्वाचन व्यवस्था सम्बन्धी विधेयक संसद्‌मा पेश गर्ने, स्थानीय तह मार्फत मतदाता नामावली सङ्कलन कार्य शुरू गर्ने र राजनीतिक दलको लेखा परीक्षणका सम्बन्धमा पनि छलफल भएको आयोगले जनाएको छ ।