दुई हजारको तह ओर्लिएसँगै नेप्से स्थिर

दुई हजारको तह ओर्लिएसँगै नेप्से स्थिर

कहिरन समाचार

आइतबार बजार घटेर दुई हजारको तह मुनि आएको नेप्से परिसूचक त्यसयता लगभग स्थिर देखिएको छ।

मंगलबार नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ विन्दुमा पुगेको छ। दुई हजार तल ओर्लिएको नेप्से झिनो अंकले बढिरहेको छ। तर, बजारमा मूल्य तल्लो तहमा आयो भन्ने बाहेक अन्य सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन।

यही कारण पनि नेप्सेले स्पष्ट गति लिन सकेको छैन। बजारमा कारोबार रकम समेत एक अर्बमा झरेको छ। सोमबार दुई अर्बको कारोबार भइरहेकोमा मंगलबार भने एक अर्ब २६ करोड रुपैयाँको मात्रै कारोबार भएको हो।

८८.४५ प्रतिशतले हकप्रद जारी गर्ने घोषणा गरेको लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयरमा लगानीकर्ताहरू आकर्षित भएका छन्। कम्पनीको दोस्रो ठूलो कारोबार भएको छ। यस दिन कम्पनीको ६ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

बिमा समितिले कम्पनीहरूले हकप्रद जारी गरेर पुँजी वृद्धि गर्न नपाउने बताइरहेपनि कम्पनीले यस्तो घोषणा गरेको छ। त्यसैले कम्पनीले दिन लागेको हकप्रदमा लगाम लाग्छ कि लाग्दैन भन्ने अनिश्चय छ।

विकास बैंक, लगानी समूह, उत्पादन तथा प्रशोधनमुलक, लुघवित्त, सामुहिक लगानी कोष, व्यापार र ‘अन्य’ समूहका कम्पनीहरूको मूल्य केही बढेपनि यस्ता सेयर खरिद भइरहेको छ। बाँकी अन्य समूहमा रहेका कम्पनीहरूको सेयर मूल्य घटेर पनि बिक्री भइरहेको हो। यस दिन बजारको कुल बजार पुँजीकरण २८ खर्ब ६० अर्ब छ।