बजेटमाथिको छलफलमा गाउँखाने कथा र उखानटुक्काको ओइरो

बजेटमाथिको छलफलमा गाउँखाने कथा र उखानटुक्काको ओइरो

कहिरन समाचार

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले प्रयोग गरेका शब्द दिनहुँ डिलिट हुन थालेका छन् । पशुपतिनाथको जलारीमा सुन होइन पित्तल भन्नेदेखि मुर्रा भैसीसम्म बोलेका सांसदहरुको बोली संसद्को रेकर्डबाट हटाइएको छ ।

बजेटमाथिको छलफलमा भाग लिएका सांसदहरुले गाउँखाने कथा र उखान सुनाएका छन् । उनीहरुले सुनाएका कथा र उखान पनि संसद्को रेकर्डबाट डिलिट भएका छन् ।

अर्बपतिको रुपमा परिचित विनोद चौधरीले जब धान रोप्ने बेला हुन्छ तब रासायनिक मलको खोजी हुन थाल्छ भन्ने संसदमा उखान टुक्का जोडे पछि महिला सांसद दिपा शर्माले प्रतिष्ठित उद्योगपति चौधरीको शब्दप्रति नियमापत्ती जनाउँदै यस्ता उखान संसदमा फेरि प्रयोग नगर्न चेतावनी नै दिएकी छिन् ।

‘धेरै सांसद्का मुखबाट यस्ता उखान सुन्ने गरेका छौँ । अबका दिनदेखि महिलाका नाममा विगतमा परम्परागत रुपले बोलिने यस्ता शख्द अन्त्य गर्नुपर्छ’, उनले भनिन् ।

अर्का सांसद डिल्लीराज पन्तले अर्थमन्त्रीले ल्याएको बजेटको समर्थन गर्दै अपांगता भएका व्यक्तिप्रति लक्षित उखान प्रयोग गरेका थिए । उक्त अभिव्यक्तीमा रास्वपाका सांसद हरि ढकालको नियमापत्तिमा उपसभामुख इन्दीरा रानाले उक्त उखान हटाउन निर्देशन दिइन् ।

मेडिकल माफियाका रुपमा चिनिएका सत्तारुढ नेपाली कांग्रेसका सांसद शुनिल शर्माले आफ्नै फाइदाका लागि नीजि मेडिकल सौतेनी आमा हुन् र ? भनेर प्रश्न गरेका थिए । यस्तै नेकपा एमालेका सांसद रघुजी पन्तले बजेटमा अर्थमन्त्री डा. प्रकाससरण महतले ल्याएको बजेट गरिबका लागि नभएको भन्दै लयात्मक शैलीमा व्यङ्ग्य गरे ।

‘दाल केको गहतको, बजेट कसको महतको । धनाद्यको जुँगामा ताऊ, गरिबले हावा खाऊ । हुनेखाने मस्तराम, हुदाँखाने ठन्दाराम, बजेट आयो, अन्त्यमा जनता जिल्लराम, यो बजेट त्यही हो’, उनले व्यङ्ग्यमा भने ।

यस्तै, माओवादी केन्द्रका सांसद पुर्णबहादुर घर्तिले अर्थतन्त्र राजनीतिको केन्द्रीय अभिव्यक्ति हो भन्ने वैज्ञानिकको भनाई सत्य हो भन्दै वैज्ञानिकले भनेअनुसार नै छलफल गरिरहेको बताए । यस्तै सांसद रामकुमार राईले बजेटमा भएका राम्रा कार्यक्रमलाई पनि विपक्षी दलले विरोध गरेको भन्दै राम्रा मेरा नराम्रा तेरा नगर्न आग्रह गरे ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर संसदमा अनावश्यक राँगा र भैँसिका कुरा गरिएको भन्दै उनले यसैगर्ने हो भने पाँच वर्ष पछि परिणाम गोबरबाहेक केही नपाउने बताए ।

आफ्ना सुझाब नसमेटिने भए पनि सांसदहरुले बजेटमाथि बोल्ने क्रम सकिएको छैन । संघीय संसदका दुबै सदनमा भोलि पनि छलफल जारी रहने भएको छ ।