आलिताल पालिकाका बाढीपीडित आन्दोलित

आलिताल पालिकाका बाढीपीडित आन्दोलित

कहिरन समाचार

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका ६ र ७ का बाढी पहिरोपीडित आन्दोलित भएका छन् । आफूहरूका माग सरकारले सम्बोधन नगरेको भन्दै सोमबार बाढीपीडितले आलिताल गाउँपालिका कार्यालय भीमदत्तपुरमा धर्ना दिएका छन् ।

बाढी पहिरोपीडित संघर्ष समितिले गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । बाढीपहिरोले वर्षेनि आलिताल ६ र ७ का आधा दर्जनभन्दा बढी बस्ती कटान गर्दै आइरहेको छ । यी वडाका विभिन्न वस्तीमा २०७७ साउनमा परेको अबिरल वर्षाका कारण लगभग २५० घरधुरी, महादेव मावि भवन र १३ हजार रोपनी खेतीयोग्य जमिन उच्च जोखिम रहेको छ ।

संघर्ष समितिका संयोजक दीपकबहादुर बोहराले टोलबस्तीहरू अति जोखिम रहेको हुँदा तत्काल संरक्षण गर्न नसके यसपालिको वर्षायामको समय थप क्षति ब्यहोर्नुपर्ने अवस्था रहेकोले तत्काल समस्याको समाधानको गर्न सरकारको ध्यान आकर्षण गराएको बताए । राज्यसँग पटकपटक आफूहरूले समस्या दर्साउँदै आएता पनि आफूहरूप्रति राज्यको कुनै पनि निकायले पीडितहरूको समस्या सामाधानका लागि कुनै पहल नगरेको सैयोजक बोहोराले बताए ।।

सरकारले मेसिनरी वाल र तारजालीसहितको तटबन्ध गरिदिनुपर्ने तथा सम्भावित विपद्का घटनाबाट जोगिन सुरक्षित टहरा बनाइदिनुपर्ने माग बाढी पहिरोपीडितका छन् । यहाँका बाढीपीडितका समस्या समाधानका लागि सुनुवाई तत्काल नभए आगामी दिनमा कडा संघर्षका कार्यक्रम गर्दै अगाडि बढ्ने चेतावनी उनीहरूले दिएका छन् ।

गाउँपालिका अध्यक्ष पार्कीले बाढीपहिरोपीडितका समस्या आफूले पटक–पटक प्रदेश सरकार र डडेल्धुराबाट निर्वाचि सांसदहरूसम्म पुर्‍याएको बताए । समस्या समाधान पर्ने प्रदेश सरकारबाट आवश्वासन मिले पनि कार्यान्वयन भने नभएको उनको भनाइ छ । उनका अनुसार गाउँपालिकासँग तटबन्धका लागि पर्याप्त बजेट छैन । उनले प्रदेश सरकारले बजेटको व्यवस्था गरेमा असार मसान्तसम्ममा तटबन्ध र सुरक्षित टहरा निर्माण गरेर जोखिममा रहेका बस्तीहरू जोगाउन सकिने बताए ।