गौर हत्याकाण्ड छानबिनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

गौर हत्याकाण्ड छानबिनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

कहिरन समाचार

काठमाडौँ । गौर हत्याकाण्ड छानबिनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । त्रिभुवन शाह लगायत गौर हत्याकाण्डका पीडितहरूले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

पीडितहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट हालेका हुन् । उनीहरुले रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन् ।

२०६३ चैत ७ मा रौटहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा कार्यक्रम आयोजना गरेको निहुँमा झडप भएको थियो ।

लामो समयदेखि कुनै अनुसन्धान अघि नबढेको यो घटनाको अनुसन्धान अघि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले पनि गत पुसमा सिफारिस गरेको थियो । आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान गरी मुद्दा चलाउन गत पुस १९ गते सरकारलाई सिफारिश गरेको थियो ।

गौर हत्याकाण्डपछि छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जाहेरी परेको एवं घटनामा संलग्न भनी उनीहरुको नाम किटेको थियो । मानव अधिकार आयोगले त्यही आधारमा उनीहरुमाथि छानबिन गर्नु भनेको हो ।

सर्वोच्चले यस रिटमाथि सोमबार पेशी तोकेको छ ।