बचत फिर्ता माग्दै सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

बचत फिर्ता माग्दै सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

कहिरन समाचार

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । पीडितहरूले सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिवार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले खाएर भागेको बचत फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए ।

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताका लागि राज्यका सबै निकाय धाउँदा कतै पनि सुनुवाइ नहुँदा संयुक्त रूपमा पीडितहरू सडक आन्दोलनमा आएको बताए । उनले काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट नभएको पनि बताए ।

उनले सरकारसँग सहकारी पीडितहरुको माग सहकारीलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको बताए ।

उनले अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ता एक ठाउँमा रहेको बताए । उनले सहकारीमा बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नदिएको भन्दै कुनै कालो धन जम्मा नगरेको बताए ।

पीडितहरूले रगत पसिनाले कमाएको पैसा फिर्ता गर, आमनागरिकको बचत फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोका गर, सहकारीहरूलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, फरार सहकारी सञ्चालनको तत्काल खोजी गर, हिजोको दिनमा यहाँ छौं, त्यहाँ छौं भन्ने नेताहरू आज कहाँ छन् ? सहकारीको पाराले दुःख पाए बचतकर्ताले भन्ने प्लाकार्डसहित नारा लगाई प्रदर्शनमा उत्रिएका थिए ।