‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल भन्ने आँट कसैले गरेन’

‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल भन्ने आँट कसैले गरेन’

कहिरन समाचार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ बनाउने आँट कसैले पनि गर्न नसकेको बताएका छन् ।

पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा कसैले लगाउन नसकेको बताएका हुन् ।

कुनै व्यक्ति नभई सिङ्गो समाजलाई माथि उठाउन आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको ओलीको तर्क छ । ढिलो होइन, छिटो विकास गर्न आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको भन्दै उनले मानव समाजका लागि बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकासको खाँचो रहेको र त्यो एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने जिकिर गरे ।

अध्यक्ष ओलीले गरिवी छिटो अन्त्य हुनेगरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताए । विकास, निर्माणको कामलाई अघि बढाउन गरिवी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको उनले चर्चा गरे ।

अध्यक्ष ओलीले सम्पूर्ण पपुलेशनलाई विकास निर्माणको प्रक्रियामा सहभागी गराउन पनि नेपालले विज्ञान र प्रविधिको प्रयोगमा ध्यान केन्दित गर्नुपर्ने उनको सुझाव छ ।

‘अब हामीले भोकमरीको अन्त्य गर्नुछ । गरिवी निवारण गर्नुछ । सबभन्दा फाष्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दा हाम्रो १७/१८ प्रतिशत पपुलेशन अझै पनि गरिवीको रेखामुनि छ । त्यसकारण त्यो पपुलेशन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन’, उनले भने, ‘पेटको बारेमा सोच्नु नपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्छ । त्यसकारण रुपान्तरणका लागि टेक्नोलोजी, साइन्सलाई प्रविधिमा कसरी रुपान्तरण गर्ने भन्ने हो ।’