अमेरिकी भिसाको आवेदन शुल्क बढ्यो

अमेरिकी भिसाको आवेदन शुल्क बढ्यो

कहिरन समाचार

काठमाडौं । अमेरिकाले भ्रमण र गैरआप्रवासी भिसाको आवेदन शुल्क वृद्धि गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै बढेको भिसा शुल्क २०२३ जुन १७ देखि लागु हुने जानकारी दिएको छ ।

दूतावासका अनुसार अमेरिकाको भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुनेछ । पेटिसनमा आधारित (एच, एल, ओ, पी, क्यू, आर) भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन् । ई भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछन् ।

दूतावासले अन्तर्राष्ट्रिय यात्राले अमेरिकी अर्थतन्त्रमा विशेष भूमिका खेल्नेसमेत जनाएको छ । दूतावासको सूचनामा भनिएको छ, ‘अमेरिकी अर्थतन्त्रमा अन्तर्राष्ट्रिय यात्राले खेल्ने महत्त्वपूर्ण भूमिका हामीले बुझेका छौँ । भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी एक वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिन्छन् ।’