भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २८० पुग्यो, नौ सय बढी घाइते

भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २८० पुग्यो, नौ सय बढी घाइते

कहिरन समाचार

काठमाडौं । भारतको ओडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ । दुर्घटनामा ९ सय बढी घाइते छन् । मृत्यु हुनेको संख्या लगातार बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

ओडिसाको बालासोर जिल्लामा शुक्रबार साँझ कोलकत्ताबाट चेन्नेइ गइरहेको रोमोमण्डल एक्सप्रेस र यशवन्तपुर हावाडा एक्सप्रेस एकआपसमा ठोक्किएका हुन् । रेल अधिकारीहरुका अनुसार यशवन्तपुर हावाडा एक्सप्रेसका केही डब्बा निस्केर अर्को रेलमार्गमा पुगेका थिए । ती डब्बा कोलकत्ताबाट चेन्नेइ गइरहेको कोरोमन्डल एक्सप्रेससँग ठोक्किन पुगेका थिए । त्यसपछि अनियन्त्रित भएको कोरोमन्डल एक्सप्रेस अर्को मालगाडीमा गएर ठोक्किएको थियो ।

रेल दुर्घटनामा अझै पनि उद्धारको कार्य जारी छ । दुर्घटनास्थलमा एक सयभन्दा बढी डाक्टरसहितको आकस्मिक उपचार टोली परिचालन गरिएको छ । दुर्घटनापछि पीडित परिवारका लागि विभिन्न राहतको प्याकेज घोषणा गरेको सरकारले उच्चस्तरीय छानबिनका लागि आदेश दिएको छ ।

दुर्घटनालगत्तै रेलमन्त्री अश्विनी वैष्णव, ओडिसाका मुख्यमन्त्री नवीन पटनायक बालासोर पुगेका छन् । आजै प्रधानमन्त्री नरेन्द्र मोदी पनि बालासोर पुगेर पीडित परिवार र घाइतेहरुलाई भेट्ने तयारी गरेका छन् ।

यसैबीच रेल दुर्घटनापछि रेलमन्त्रीको राजीनामा पनि माग भएको छ । विभिन्न विपक्षी दलका नेताहरुले रेलमन्नत्री वैष्णवको राजीनामा माग गरेका हुन् । तृणमुल कांग्रेसका नेता अभिषेक बनर्जी, महाराष्ट्रका पूर्वउपमुख्यमन्त्री अजित पवारलगायतले यसअघिका दुर्घटनामा रेलमन्त्रीले राजीनामा दिने गरेको भन्दै वैष्णवको राजीनामा माग गरेका हुन् ।

कांग्रेस सांसद मणिकम ट्यागोरले सन् १९५६ मा रेल दुर्घटना भएपछि तत्कालीन रेलमन्त्री लालबहादुर शास्त्रीले राजीनामा दिएको स्मरण गराए ।