नेपालमा १४२ जातजाति, मातृभाषा १२४ र धर्मको संख्या १०

नेपालमा १४२ जातजाति, मातृभाषा १२४ र धर्मको संख्या १०

कहिरन समाचार

काठमाडौं । नेपालमा कुल जातजातिको संख्या १४२ पुगेको छ । २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा यो विवरण सार्वजनिक गरिएको हो ।

कार्यालयका अनुसार २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको संख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ ।

यस्तै नेपालमा ८१ प्रतिशतभन्दा धेरै मानिसले हिन्दु धर्म मान्ने गरेको पनि तथ्याङ्कमा उल्लेख छ । २०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । यस्तै ८.२१ प्रतिशतले बौद्ध धर्म, ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।