एमालेमा केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

एमालेमा केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

कहिरन समाचार

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी नयाँ ढंगले हेरफेर गरेको हो ।

एमालेले दिएको नयाँ जिम्मेवारी अनुसार वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजनको जिम्मा दिएको छ । बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बेठकले योजना तथा नीतिसम्बन्धी विभागको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको भने पूर्वाधार र विकास निर्माणसम्बन्धी विभागको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलता सम्बन्धी विभागको नेतृत्व रामबहादुर थापा बादल र सामाजिक विकाससम्बन्धी विभागको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिइएको छ ।

यस्तै मानव स्रोतसम्बन्धी विभागको जिम्मेवारी उपाध्यक्ष युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसम्बन्धी विभागको जिम्मेवारी सुवास नेम्वाङ र संगठन प्रशिक्षण र प्रचारसम्बन्धी विभागको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाएका छन् ।

कार्यविभाजनमा जिम्मेवारी पाएका नेताहरुले साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने लगायतका काम तोकिएको छ ।

त्यस्तै एमालेले केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको छ । कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ ।

कर्णाली प्रदेशको इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् । बागमती प्रदेशको विशेष कामहरुको संयोजन भने केन्द्रीय कार्यालयले नै गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

यसैगरी केन्द्रीय संगठन प्रमुख काशीनाथ अधिकारी र प्रचार तथा प्रकाशन विभागको प्रमुख राजेन्द्र गौतम तोकिएका छन् । पहिला केन्द्रीय संगठन प्रमुखमा खगराज अधिकारी र प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए ।

उपमहासचिव ज्ञवालीका अनुसार स्थानीय कमिटी र पोलिटब्यूरो सदस्यहरुलाई जिल्ला इन्चार्ज बनाइएको छ भने केन्द्रीय सदस्यहरुलाई पालिकाहरु नै तोकेर कामको जिम्मेवारी दिइएको छ । साथै स्कुलिङ, प्रचार र जनसंगठनहरुको संयोजन गर्न सात वटा प्रदेशमा एक–एक जना केन्द्रीय सदस्य खटाइएको छ ।

त्यसैगरी एमालेले विभिन्न पार्टीबाट आएका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । एमालेले मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागत विश्वासी, चूडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।