तराईमा पाँच दिन ‘लू’को जोखिम, सतर्कता अपनाउन आग्रह

तराईमा पाँच दिन ‘लू’को जोखिम, सतर्कता अपनाउन आग्रह

कहिरन समाचार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले देशका तराई भू-भागहरूमा आगामी ५ दिनसम्म तातो हावा तथा लु लाग्ने जानकारी दिएको छ । महाशाखाले शुक्रबार विषेश बुलेटिन निकालेर लु बाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरुको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भएको छ । मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको महाशाखाले जनाएको छ ।

देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिएको महाशाखाले जनाएको छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमासमेत तापक्रम क्रमिक रुपमा बढ्ने सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन विषेश बुलेटिनमार्फत अनुरोध गरेको छ ।

तातो हावा ‘लू’बाट थकाई लाग्ने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्ने उपायहरू अपनाउन महाशाखाले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले तातो हावा वा लुबाट बच्न दिउँसो घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ । बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न अनुरोध गरेको छ ।

मन्त्रालयले खेतबारीमा काम गर्दा पनि सकभर बिहान वा बेलुका गर्न सुझाइएको छ । यस्तै फलफूलको रस र पानी पिउने अनुरोध गरिएको छ । धेरै पसिना आएमा जीवनजल पिउन सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउन अनुरोध गरिएको छ । चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने तथा मदिरा सेवन नगर्न पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।