‘प्रधानमन्त्रीको भारत भ्रमण अपेक्षाकृत भएन, सरकारले स्मरण शक्ति गुमायो’

‘प्रधानमन्त्रीको भारत भ्रमण अपेक्षाकृत भएन, सरकारले स्मरण शक्ति गुमायो’

कहिरन समाचार

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार उच्चस्तरिय भेटवार्तासहित महत्वपूर्ण सम्झौता गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग वान टु वान र प्रतिनिधिमण्डलस्तरिय भेटवार्ताका क्रममा नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।

हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्ताका क्रममा तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो । दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी भएको हो ।

यसैगरी नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । पछिल्लो २५ वर्षपछि पुनरावलोकन भएको पारवहन सन्धिबाट नेपालले भारतीय आन्तरिक जलमार्गको प्रयोग गर्न पाउने बाटो खुलेको छ ।

यस्तै नेपालबाट आफ्नो जमिन हुँदै बंगलादेश बिजुली बेच्न दिने विषयमा भारत सकरात्मक भएको छ । यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने गरी भारतले अनुमति दिएको छ ।

हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन पछि पत्रकारसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा समेत खुल्ला गर्ने गरी दुई देशबीच समझदारी भएको जानकारी दिए । हवाई रुट दिने बिषय भने उल्लेख छैन ।

यस्तै प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म कार्गो रेलवे सेवाको संयुक्त उद्घाटन गरे । यसैगरी, नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास पनि भएको छ । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन, दोधारा, चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण सम्झौता भएको छ ।

यस्तै समकक्षी मोदीले दुई देशको सिमा नाकामा कुनै अवरोध हुन नहुने भन्दै साझा नदीमा पुल निर्माण गर्नुपर्ने भन्दै अन्य थुप्रै विकास निर्माणका काममा साझेदारी भइरहेको उल्लेख गरे । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले पनि सीमा समस्या समाधानको विषयमा सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गरिने बताए ।

बहुप्रतिष्ठित बिषयमै छलफल भएन
प्रधानमन्त्रीको भ्रमणका क्रममा भने नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल–भारत प्रबुद्ध समूह ९ईपीजी० को प्रतिवेदन लगायतका विषयमा कुराकानी भएन् । विदेश सचिव विनयमोहन क्वात्राले द्धिपक्षीय प्रतिनिधिमण्डलबीच भएको बैठकमा ती विषयहरू नउठेको बताए ।

उनले अग्निपथमा गोर्खा भर्ती, ईपीजी र शान्ति तथा मैत्री सन्धिको विषयमा दुई प्रधानमन्त्रीहरूबीच कुरा नभएको बताए । साथै भारतको संसद्मा भर्खरै राखिएको ‘अखण्ड भारत’को मुरालको बारेमा पनि दुई प्रधानमन्त्रीबीचमा छलफल नभएको बताए ।

नेपालको कुटनीति दृष्टिबिहीनले हात्ती छामे जस्तो
यता प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमण फलदायी हुन नसकेको टिप्पणी भएको छ । कुटनीतिज्ञ रमेशनाथ पाण्डेले नेपालको कुटनीति दृष्टिबिहीनले हात्ती छामेजस्तो भएको टिप्पणी गरेका छन् ।

‘नेपालको कुटनीतिक माध्यम, प्रकृया, विधि दृष्टिबिहीनले हात्ती छामे जस्तो भएको छ । कुटनीति आफ्नो कुरा राख्न सक्ने, अर्कोको कुरा बुझ्न सक्ने या आफ्नो कुरामा अर्को पक्षलाई बुझाउन सक्ने सिप कुटनीति हो । हाम्रो कुटनीतिको कुरामा धेरै वर्षअघि सिमा विवादका बारेमा परराष्ट सचिवहरुको संयन्त्र बनेको छ’, उनले भने, ‘दुई देशका तत्कालिन प्रधानमन्त्रीले तय गरेर सार्वजनिक रुपमा घोषणा गरेर बनेको संयन्त्र हो । त्यो संयन्त्रको आजसम्म बैठक बस्न सकेको छैन । आजसम्म बैठक बस्ने नसक्ने अनि कुतनैतिक माध्यमबाट समाधान गर्छु भनेर मन्त्र जपेर बस्ने, यसको कुनै अर्थ छैन ।’

कुटनीतिज्ञ पाण्डे अहिलेको भ्रमणमा पनि नेपालले स्मरण शक्ति गुमाएको बताए । भारत जन्मनुभन्दा १९१६ मा भारतमा राज्य गरेको तत्कालीन ब्रिटीस सरकारले छापेको अखण्ड भारतको नक्सा अहिले प्रचलनमा ल्याएर भारत सरकारले विवाद निम्त्याउन खोज्दासमेत नेपाल सरकारले भारतसँग कुरा गर्न नसक्नुले प्रधानमन्त्रीको हैसियत प्रष्ट भएको उनले बताए ।

यस्तै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने नागरिकता विधेयक उपहार लिएर गएको यो भ्रमण सफल पनि भन्न नमिल्ने असफल पनि भन्न नमिल्ने खालको देखिएको बताए । उनले केही कुरा राम्रा भएपनि केही कुरा अधुरै छोडेको बताए ।

‘केही राम्रा कुरा भएका छन् । केही अधुरै छोडिएको छ । सिमाको कुरा पोष्टपोण्ड भएको छ, इपीजीको रिर्पोट बुझिदिने कुरा भएको छैन । नागरिकता विधेयकमा राष्ट्रपतिलाई सही गरेर उपहार लिएर उसलाई खुसी पार्न लगिएको छ तर बंगलादेश र इन्डियालाई बिजुली बेच्न पाउनु, कनेक्टिभिटीका धेरै कुराहरू हुनु, उद्घाटन शिलान्यास भएको छ । मिक्स छ’, उनले भने ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको भ्रमण अपेक्षाअनुसार हुन नसकेको प्रारम्भीक प्रतिक्रिया दिएको छ । एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले प्रधानमन्त्रीले जुन आशा देखाएर जानुभएको थियो त्यसअनुसारको रिजल्ट आउन नसकेको बताए ।

उनले प्रधानमन्त्रीले भ्रमण अघि घोषणा गरेका र आफूले सुझाव दिएका विषयहरु भ्रमणमा नउठेको भन्दै भ्रमणलाई उपलब्धीपूर्ण भन्न नसकिने बताए ।