नयाँ संसद् भवनको काम समयमै सक्न सभामुखको निर्देशन

नयाँ संसद् भवनको काम समयमै सक्न सभामुखको निर्देशन

कहिरन समाचार

काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

अहिले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको उनको भनाइ छ । अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गर्दै उनले विगतका प्रतिकूलतालाई अनुकूलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

‘समयको हिसाबले काम कम छ । तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यकता हो । हिजोका प्रतिकूलतालाई अब अनुकूलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकूलता सबै ठाउँमा छ । यसैले अब समयमा नै काम सकिन्छ,’ सभामुख घिमिरेले भने ।

वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहे पनि संसद् भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको उनले प्रस्ट पारे । मन्त्रालय र ठेकेदार कम्पनीले एकअर्कालाई दोष लगाउनुभन्दा आफ्नो काम सम्पन्न गर्ने कुरामा बढी ध्यान दिनुपर्ने सभामुखको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । ३ वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार यो भवनको गत भदौमै निर्माण सकिनुपर्ने थियो । त्यसपछि ६ महिनाका दरले म्याद थपे पनि काम नसकिएका कारण पुन ६ महिना म्याद थप्ने तयारी गरिएको छ ।

भवन निर्माणको समय लम्बिदै जादाँ यसको लागत पनि बढ्दै गएको छ । टुण्डी सेक ज्वाइन्ट भेन्चरले काम भ्याटसहित ५ अर्ब २ करोडमा यो आयोजनाको ठेक्का पाएको थियो । अहिले त्यो लागत बढेर ५ अर्ब ३९ करोड पुगेको छ । १५१ रोपनी जग्गामा सङ्घीय संसद्का १२ वटा विभिन्न भवन निर्माण भइरहेको छ । जहाँ प्रतिनिधिसभा, राष्ट्रियसभा, संसदीय दलको कार्यालय, सङ्घीय संसद् सचिवालय, सुरक्षाकर्मी आवास, पार्किङ स्थल लगायतका विभिन्न संरचना बनिरहेको छ ।

सहरी विकास मन्त्रालयका अनुसार कूल जमिनको २७ प्रतिशत भागमा भौतिक संरचना, २० प्रतिशत भागमा बाटो, ४३ प्रतिशत भागमा बगैँचा निर्माणको काम हुनेछ । हालसम्म भवन निर्माणको काममा भौतिक प्रगति ६३ प्रतिशत र आर्थिक प्रगति ५३ प्रतिशत आयोजनाको परामर्शदाता राजुमान मानन्धरले सभामुख घिमिरेलाई जानकारी गराए ।