अखण्ड भारतको नक्साविरुद्ध नेपालको संसददेखि सडकसम्म बिरोध प्रर्दशन

अखण्ड भारतको नक्साविरुद्ध नेपालको संसददेखि सडकसम्म बिरोध प्रर्दशन

कहिरन समाचार

काठमाडौं । भारतको संसद भवनमा राखिएको नक्सामा नेपालको भुभाग समेटेपछि नेपालमा सडकदेखि संसदसम्म विरोध भएको छ । भारतको नवनिर्मित संसद भवनमा राखिएको नक्साको विरोधमा बुधबार बागमती प्रदेश सभा बैठक अवरुद्ध गरिएको छ ।

छिमेकी मुलुकको संसद भवनमा राखिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीको भूभाग समेटिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेश गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको प्रदेशसभा सभामुख भुवन कुमार पाठकल घोषणा गरे ।

नेपालको कुनैपनि भूभाग कसैको अधिनमा नरहेको बताउँदै भारत सरकारलाई उक्त नक्सा सच्याउन कुटनीतिक माध्यमबाट पहल गर्न एमालेका सचेतक मधुसूदन पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए ।

यता अखण्ड भारतको नक्साको विरोधमा विद्यार्थी संगठन भने सडकमा उत्रिएका छन् । बुधबार विद्यार्थीको संयुक्त संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले नाराबाजी गर्दै भारतको नक्सालाई समेत जलाएका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा यो विषय उठाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत आग्रह गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने बताएको छ ।

नेकपा एमाले निकट युवा संघले भक्तपुरमा हिजो बेलुकी प्रर्दशन गरेको थियो ।