९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

कहिरन समाचार

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । देशभरका ६ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ ।

सरकारले  आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन एक अर्ब २८ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरे ।

यस्तै सबै संघीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३०० शैयामा विस्तार गरिने बजेट घोषणामा अर्थमन्त्री महतले सुनाए । सरुवा रोग अस्पताल निर्माण र विस्तारका लागि ४६ करोड विनियोजन गरिएको छ ।

सरकारले महिलाहरूको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क पहिचान र प्रारम्भिक उपचारको कार्यक्रमहरूलाई विस्तार गर्दै लैजाने भएको छ । सरकारले स्वास्थ्य बीमालाई निरन्तारता दिएको छ ।