कोशीमा पहिचानवादीको आमहड्ताल फिर्ता, वार्तामा आउन सरकारको अपिल

कोशीमा पहिचानवादीको आमहड्ताल फिर्ता, वार्तामा आउन सरकारको अपिल

कहिरन समाचार

काठमाडौं । कोशी नाम खारेजीका माग राख्दै आन्दोलनरत पक्षले आम हडतालको कार्यक्रम फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङमा मंगलबार भएको वार्तामा सहमतिअनुसार पुनः नामकरण संघर्ष समितिले आम हड्तालको कार्यक्रम फिर्ता लिएको हो ।

सहमतिअनुसार यसअघि पक्राउ परेका बाँकी २६ जना विनासर्त छुटेका छन् । यसअघि आन्दोलनको क्रममा पक्राउ परेका ८६ जनामध्ये ६० जना छुटे पनि २६ जनालाई मुद्धा लगाउने तयारी गरिएको थियो । त्यसविरुद्ध समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको थियो ।

आन्दोलनरत पक्षले शान्तिपूर्ण आन्दोलन मात्र गर्ने बताए पछि पक्राउ परेका कार्यकर्ता छोड्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरलेलले जानकारी दिए ।

यसैबीच, आन्दोलनरत पहिचानवादीहरूलाई प्रदेश सरकारले वातार्मा आउन अपिल गरेको छ । कोशी सरकारका प्रवक्ता कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले प्रेस विज्ञप्तिमार्फत् आन्दोलनरत पक्षलाई वार्ताको लागि औपचारिक आव्हान गरेका हुन् ।

जुनसुकै आन्दोलनको निकास वार्ताका टेबुल भएकाले नामकरणको विरोधमा भइरहेको आन्दोलनका कार्यक्रम छाडेर वार्तामा आउन आग्रह भनिएको छ । तर संघर्ष समितिले हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार समस्या समाधानभन्दा संसद बोलाएर थप झडप गराउन लागेको आरोप लगाएको छ ।