काभा महिला भलिबल: नेपाललाई हराउँदै भारत समूह विजेता

काभा महिला भलिबल: नेपाललाई हराउँदै भारत समूह विजेता

कहिरन समाचार

काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा भारत समूह ‘ए’ को विजेता बनेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

घरेलु टोली नेपाललाई भारतले ३-१ को सेटमा हराएको हो । पहिलो सेट १२-२५ र दोस्रो सेट २४-२६ को अन्तरले गुमाएको नेपालले तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । तर, चौथो सेट २५-२१ ले जितेर भारतले नेपालविरुद्धको जित पक्का गर्यो ।

जितसँगै समूह ‘ए’ को भारत ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो रहेको छ ।

समूह ‘ए’ को उपविजेता बनेको नेपालले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता काजकिस्तानसँग खेल्नेछ । समूह ‘ए’ को विजेता भारतले सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत बुधबार नै भएको समूह ‘ए’ को अर्को खेलमा किर्गिस्तानले बंगलादेशलाई ३-० को सेटमा हराएको हो । यस्तै समूह ‘बी’ मा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै कजाकस्तान समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो ।