काभा महिला भलिबल: नेपाल र भारत खेल्दै

काभा महिला भलिबल: नेपाल र भारत खेल्दै

कहिरन समाचार

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले बुधबार भारतको सामना गर्दैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल आज भारतलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ । दुई खेल जितिसकेको नेपाल समूह ए बाट अन्तिम चारमा पुगिसकेको छ । भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ ।

यस समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेको छ । यस्तै समूह बी बाट काजकिस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् ।

प्रतियोगिता अन्तर्गत बुधबार बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।