आइपीएल: गुजरातलाई हराउदै चेन्नाई फाइनलमा प्रवेश

आइपीएल: गुजरातलाई हराउदै चेन्नाई फाइनलमा प्रवेश

कहिरन समाचार

काठमाडौं । साबिक विजेता गुजरात टाईटन्सलाई हराउदै चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेश गरेको छ । घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियममा गएराति भएको खेलमा चेन्नाई १५ रनले विजयी भएको हो ।

दशौं पटक आइपीएल फाइनल पुगेको चेन्नाई चार पटक आईपीएल च्याम्पियन भएको छ।चेन्नाईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय ५७ रन बनायो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ४२ रन बनाए । राशिद खानले ३० रन बनाउँदा विजय शंकरले १४ रन बनाए ।

चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना,रविन्द्र जडेजा र महेश थिक्सनाले समान २/२ तथा तुसारदेस पान्डेले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।

चेन्नाईका ओपनर ऋतुराज गायकवाडले ६० रनको अर्धशतकीय ईनिङ खेले । डेभोन कन्वेले ४० रन बनाए । अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७/१७ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी एक रनमै क्याच आउट भए । रविन्द्र जडेजा २२ रनमा शामीको बलमा बोल्ड भए । भने मोईन अली ९ रनमा अविजित रहे ।

गुजरातका मोहित शर्मा र मोहम्मद सामीले समान २/२ तथा नूर अहमद, दर्शन नालकंडे र राशिद खानले समान १/१ विकेट लिए ।

जितसँगै चेन्नाईले फाइनलमा स्थान बनाएको छ । फाइनल खेल आगामी आइतबार हुनेछ ।

पराजित गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ । गुजरातले फाइनल प्रवेशका लागि आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच हुने ईलिमिनेटर खेलको विजेतासँग शुक्रबार खेल्नेछ ।