काठमाडौंमा आजदेखि ‘सम्पदा घुम्ती बस’ सेवा सञ्चालन

काठमाडौंमा आजदेखि ‘सम्पदा घुम्ती बस’ सेवा सञ्चालन

कहिरन समाचार

काठमाडौं । काठमाडौंमा आजदेखि ‘सम्पदा घुम्ती बस’ सेवा सञ्चालनमा आएको छ । मंगलबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुर महानगरपालिका अगाडि उक्त सेवा सञ्चालनको उद्घाटन गरेसँगै सम्पदा घुम्ती बस सञ्चालनमा आएको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकामा पर्यटन क्षेत्र लक्षित सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हप अन हप अफ बस’ सञ्चालन आएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुई वटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् । यो सेवा सञ्चालनको गर्नुको उद्देश्य उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने हो ।

साझा यातायातको दुई ‘हप अन हप अफ बस’ पुल्चोकबाट टुरिष्ट बसपार्क (ललितपुर), महाँकाल मन्दिर, दरबारमार्ग, नारायणहिटी दरबार सङ्ग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिर, तारा गाउँ संग्राहलय बौद्धबाट नारायणगोपाल चोक, स्वयम्भू पाउ पुग्नेछ । यस्तै, त्यहाँबाट परोपकार कालिमाटी हुँदै बल्खु चोक, एकान्तकुना, जावलाखेल‚ पुल्चोक रुट कायम गरिएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीका अनुसार दुई वटा बस प्रत्येक ठाउँमा आधा घण्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ ।

साझा यातायातका बोर्ड सदस्य सुशील प्याकुरेलले उक्त सेवा एक हप्ता निस्शुल्क सञ्चालन हुने बताए । एक हप्तापछि प्रतिव्यक्ति पाँच सय रुपैयाँ भाडा तोकिने र यो भाडाले सबै सम्पदामा घुम्न पाइने जानकारी दिए । तर पर्यटनमन्त्री किरातीको भने अझै भाडा समायोजन नभएकाले एक हप्ता पछिमात्रै भाडा कायम गरिने भनाइ छ ।

आजदेखि सञ्चालन आएको सेवा काठमाडौं र ललितपुरभित्र मात्रै सञ्चालन हुनेछ । भक्तपुर जिल्लाभित्र रुट तोकिएको छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले अहिले परीक्षणको लागि मात्रै सञ्चालन गरिएको र विस्तारै भक्तपुर जिल्लामा पनि यो सेवा विस्तार हुने बताए ।