नक्कली शरणार्थी प्रकरण: गिरोहको पोलापोल, आफै पीडित बनेसम्मको वयान

नक्कली शरणार्थी प्रकरण: गिरोहको पोलापोल, आफै पीडित बनेसम्मको वयान

कहिरन समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले एक अर्कालाई दोषी देखाएका छन् । बयानका क्रममा उनीहरुमध्ये कतिले आफै पीडित बनेको बताएका छन् कतिले इन्कारी गरेका छन् ।

सुरुमा इन्कारी बयान दिएका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटारमै पुगेर १ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ सालमा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

दुलालले आफ्नो बयानमा तत्कालीन प्रधानमन्त्री ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वाटरमा १÷१ करोड रुपैयाँ दिएको पनि बयान दिएका छन् ।

यो प्रकरणका अर्का मुख्य योजनाकारसानु भण्डारीले आफूलाई डा. इन्द्रजीत राईले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको बयान दिएका छन् । अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा भण्डारीले तत्कालीनगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार रहेका राईले आफूलाई अमेरिका पठाइदिन्छु भन्दै रकम लिएको तर काम नगरेको बताएका हुन् ।

बयानमा भण्डारीले पटकपटक कसैलाई पनि अमेरिका पठाइदिने भन्दै कसैसँग कुरा नगरेको, कसैलाई रकम नदिएको तथा कसैसँग रकम नलिएको जिकिर गरेका हुन् ।

पूर्व गृहमन्त्री बालकृष्ण खाणले आफ्नो कार्यकालमा मन्त्रालयबाट प्रतिवेदन फेरबदल भएको काममा आफू संलग्न नभएको बयान दिएका छन् । आफूले भुटानी शरणार्थीहरुलाई मानवीय रुपमा निकै सहयोग गरेको दावी गर्दै नक्कली शरणार्थी प्रकरणमा आफू संलग्न नभएको जिकिर समेत गरेका छन् ।

पक्राउ पर्नुअघि नै मोबाइल सेट (फर्म्याट) गरेका उनले बयानका क्रममा त्यसबारे कुनै जानकारी नभएको जिकिर गरेका छन् । खाण र उनका पिए नरेन्द्र केसीले इन्कारी बयान दिएका हुन् । उनका पिए केसीले पनि आफूले पूर्वसांसद आङटावा शेर्पासँग पटक–पटक कुराकानी गरेको भए पनि त्यसबारे सम्झना नभएको बताएका छन् ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अनुसन्धान प्रयोजनका क्रममा सूचना संकलन एवं विश्लेषणका लागि आफूले शरणार्थी प्रकरणका गिरोहसँग सम्पर्क गरेको दावी गरेका छन् । पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले सूचना संकलनका लागि विवादास्पद व्यक्तिसँग सम्पर्क भएको र भुटानी शरणार्थीको प्रक्रिया टुंग्याउन त्यसको उपयोग गरिएको दावी गरेका छन् ।

आफ्नै कार्यकालमा भुटानी शरणार्थीको नाममा नेपालीलाई विदेश पठाउने चलखेल रोकिएको भन्दै सचिव पाण्डेले शरणार्थीको नाममा उठाएको पैसा फिर्ता गर्नु परेपछि बिचौलियाले प्रतिशोधको रुपमा आफ्नो नाम मुछेको दाबी गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँले आफूले प्रयोग गरेको सरकारी गाडी सन्देश शर्मालाई प्रयोग गर्न दिएको स्वीकारेका छन् । पक्राउ परेपछि सरकारी वकिलको रोहवरमा प्रहरीलाई बयान दिने क्रममा शर्माले पारिवारिक समस्या बताएपछि आफूले गाडी दिएको र त्यसबाहेक अरु थाहा नभएको दावी गरेका छन् ।

‘सन्देश शर्माले पारिवारिक समस्या छ भनेर गाडी माग गरेकोले केही दिनको लागि चालकलाई गाडी छाड्न भनेको हुँ’ मियाँको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘सन्देश शर्मालाई पटक–पटक ताकेता गर्दा ५÷६ दिनपछि मात्र सन्देश शर्माले गाडी ल्याई रेष्टुरेन्टमा छाडेका हुन् ।’

आफू रामबहादुर थापा बादलको कार्यकालमा हज समितिको अध्यक्षमा नियुक्त भएको, बादलका छोरा प्रतीक थापासँग सन्देश शर्मा प्रायजसो सँगसँगै रहने भएकाले चिनाजान भएको उनले बयानमा स्वीकारेको प्रहरी स्रोतले बताएको छ ।

नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ परेका सक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा पक्राउ परेकाहरु १४ वर्ष अगाडिदेखि नै सक्रिय रहेको बताएका छन् ।

टोपबहादुर रायमाझी, सानू भण्डारी, केशव दुलाललगायतले भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीहरू समेतलाई भुटानीहरूकै नाममा लैजाने योजना सुनाएको दाबी गरेका छन् । यो गिरोहलाई अमेरिकामा रहेका अशोक पोखरेलले सघाएको उनको दाबी छ ।

यस्तै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै आज जिल्ला अदालतमा उपस्थित गराएको थियो । जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उनीहरुलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । यस प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध प्रमाण पेश गरेको छ । अझै १७ जना फरार सूचीमा छन् । उनीहरुमाथि संगठित ठगी, कीर्तेसम्बन्धी कसुर र राज्यविरुद्धको अपराधको कसुर लगाउन भनिएको छ ।

सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर अदालतमा मुद्दा दायर गर्नेछ । यस घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ वटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए ।