पर्सामा पूँजीगत खर्च निराशाजनक

पर्सामा पूँजीगत खर्च निराशाजनक

कहिरन समाचार

वीरगञ्ज । चालू आर्थिक वर्ष २०७९/८० को १० महीनामा पर्सामा रहेका सरकारी कार्यालयको पूँजीगत खर्च निराशाजनक देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाको पूँजीगत खर्च ३५ प्रतिशत रहेको छ ।

यहाँका ४२ सरकारी कार्यालयले कुल बजेटको पूँजीगततर्फ ३५ प्रतिशत र चालुतर्फ ८१ प्रतिशतमात्र खर्च गरेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए । उनका अनुसार पूँजीगततर्फ रू. ४ अर्ब ४७ करोडमध्ये वैशाख मसान्तसम्म रू. १ अर्ब ५५ करोड जति मात्र खर्च भएको छ भने चालूतर्फ करीब रू. १० अर्ब ३८ करोडमध्ये वैशाख मसान्तसम्म रू. ८ अर्ब ४६ करोड खर्च भएको छ ।

वीरगञ्ज महानगरपालिकासहित जिल्लाका १४ ओटै पालिकाको समानीकरण र सशर्त बजेट रू. ५ अर्ब ४२ करोडमध्ये वैशाखसम्म सबै पालिकाको पहिलो र दोस्रो त्रैमासिकमा गरी रू. २ अर्ब २६ करोडभन्दा माथि निकासा भएको कार्यालयले जनाएको छ ।

समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुलगायत कारणले सरकारी कार्यालयको पूँजीगत खर्च र विकास बजेट खर्च हुन नसकेको प्रमुख उप्रेतीको भनाइ छ ।