बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारिकरण गर्यो : विप्लव

बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारिकरण गर्यो : विप्लव

कहिरन समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरू नाफा घाटा मात्रै हेर्ने उल्लेख गरेका छन् । उनले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरूको शताब्दी हुन नसक्ने स्पष्ट पारेका हुन् ।

महासचिव विप्लवले अहिले युवाहरूमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरूरी रहेको बताए । उनले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरूले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको बताए ।

‘युवाहरूमा वितृष्णा र निराशा छ, १५ वर्षसम्म हामीले हेर्यौं केही हुन सकेन, बहुदल आयो, बहुदलले स्वतन्त्रता त दियो तर शिक्षालाई बजारीकरण गरियो । शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो,’ महासचिव विप्लवले भने, ‘बजारमा पुगेको शिक्षाले नाफा घाटा मात्रै हेर्छ, समानता र अधिकार हेर्दैन । आज नेपालमा मुठीभर मान्छेका छोराछोरीहरूले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउनु र सामान्य नागरिकले पढ्न नपाउने, जिन्दगी नै बर्बाद हुने निराशातिर धकेलिने अवस्था देखापरेको छ ।’

महासचिव चन्दले देशको उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरू दुई कौडीमा विदेशीको लिलाम भइरहेको पनि बताए ।