बागमतीको बजेट अधिवेशन आगामी ९ जेठमा आह्वान

बागमतीको बजेट अधिवेशन आगामी ९ जेठमा आह्वान

कहिरन समाचार

काठमाडौं । बागमती प्रदेशको बजेट अधिवेशन आगामी ९ जेठमा बस्ने भएको छ । प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ गते दिउँसो १ बजे आह्वान गर्ने गरी प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरेको छ ।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

आइतबारको बैठकले प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने गरी विधेयक तयार गरेको र सो विधेयकलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । मन्त्रिपरिषद् बैठकले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशभर सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्नेसम्बन्धी विधेयकको मस्यौदालाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

गत १० वैशाखमा बागमती प्रदेश राष्ट्रभाषा ऐन निर्माण कार्यदलले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको थियो ।