बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्ट

बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्ट

कहिरन समाचार

काठमाडौं । जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्दा ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो ।

यही वैशाख ३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निक साइमन इन्स्टिच्युट (एनएसआई)ले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्यांकन गरेको थियो । सो क्रममा बैतडी जिल्ला अस्पतालले केही नमुना अभ्याससहित सर्वाधिक अंक प्राप्त गरेर देशकै उत्कृष्ट अस्पताल बनेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा. नीराजन श्रेष्ठले बताए ।

गत वर्ष ८९ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले यो वर्ष ६ प्रतिशत सुधार गर्दै ९५ प्रतिशत अंक प्राप्त गरेको हो । अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, जनशक्ति व्यवस्थापन, भौतिक अवस्थाजस्ता सूचकका आधारमा मूल्यांकन गर्दै अंक प्रदान गरिन्छ । अस्पतालले गत वर्षदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको थियो ।

त्यसपछि जनशक्ति र व्यवस्थापनमा मिहिनेत गर्दा देशकै उत्कृष्ट अस्पताल बनेको अस्पताल प्रमुख डा. दीपेश श्रेष्ठले बताए । देशभरिका अस्पतालको अनुगनमन तथा मूल्यांकनका क्रममा दमौली अस्पताल तनहुँले ९२ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो र चौतारा अस्पताल सिन्धुपाल्चोकले ८९ प्रतिशत अंक ल्याएर तेस्रो भएको छ ।

अछाम अस्पताल र दैलेख अस्पतालले क्रमशः ८७ प्रतिशत र ८६ प्रतिशत अंक ल्याएर चौथो तथा पाँचौँ स्थान प्राप्त गरेका छन् । जिल्ला अस्पताल बैतडीमा परामर्श सेवा, छात्रवृत्ति करार सेवामा पाँचजना विशेषज्ञ डाक्टरसहित अहिले १३ जना कार्यरत रहेका छन् ।

त्यस्तै, १५ वटा बेडको सुविधा भएको अस्पतालमा ४९ बेड सञ्चालनमा रहेको डा। श्रेष्ठले बताए । देशभरिकै उत्कृष्ट अस्पताल भए पनि यहाँ टोकन प्रणाली लागू गर्ने, निःशुल्क औषधिहरूको लिस्ट राख्नेजस्ता सुझाव क्षेत्रीय निर्देशनालयले दिएको छ ।

जिल्ला अस्पताल बैतडीमा राम्रो सेवा पाएपछि सीमावर्ती भारतको पिथौरागढ उपचार गर्न जाने बिरामीको संख्यामा पनि कमी आएको छ ।