तीन दलबीच संसदमा दर्ता भएका विधेयक अघि बढाउने सहमति

तीन दलबीच संसदमा दर्ता भएका विधेयक अघि बढाउने सहमति

कहिरन समाचार

काठमाडौं । प्रमुख तीन दलबीच संसदीय गतिविधि र संसदमा दर्ता भएका विधेयकहरूलाई अघि बढाउने सहमति भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा संसदीय गतिविधिहरू र विधेयकहरूलाई अघि बढाउने समझदारी भएको नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

नेम्वाङले शीर्ष नेताबीचको छलफल सकारात्मक भएको र सोमबारदेखि विषयगत समितिहरूको बैठक र संघीय संसद्को संयुक्त समिति र नियमावली बनाउने बारेमा पनि सहमति जुटेको बताए ।

‘छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । शान्ति प्रक्रिया निस्कर्षमा पुर्‍याउनेलगायत संविधान निर्माणको प्रक्रिया, त्यसलाई हामी सबै मिलेर एउटा निष्कर्षमा पुर्‍यायौँ, त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रमुख राजनीतिक दलहरू आधारभूत रूपमा एक ठाउँमा उभिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा नेताहरू पुग्नुभएको छ,’ उनले भने ।

यसैगरी, शीर्ष नेताहरूको बैठकले प्रतिनिधिसभाका विषयगत समितिहरूमा संघीय संसदमा कायम रहेको सदस्य संख्याका आधारमा नेतृत्व दिने सहमति जुटाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समितिसहित एक संयुक्त समिति र अर्को विषयगत समितिको नेतृत्व गर्ने सहमति भएको नेम्वाङले बताए ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले समेत प्रवेश पाएको थियो । उपनेता नेम्वाङका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरूबीच छलफल भएको छ ।