८२ दललाई सात दिनभित्र लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन

८२ दललाई सात दिनभित्र लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन

कहिरन समाचार

काठमाडौं । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१)बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै लेखा परीक्षण बुझाउन भनेको हो ।

आयोगको वैशाख २७ गते बसेको बैठकले यस्तो निर्देशन दिएको हो । ‘आर्थिक वर्ष २०७/०८९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमा भित्रै पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ’ आयोग प्रवक्ता पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक पार्टीलाई स्पष्टीकरण सोधेको छ । यी दलहरूले ०७७/०७८ र ०७८/०७९ को लेखा परीक्षण पेस गरेका छैनन् ।