नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तर्राष्ट्रिय चासो बढ्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तर्राष्ट्रिय चासो बढ्यो

कहिरन समाचार

काठमाडौं । नेपाली नागरिकसँग मोटो रकम लिएर नक्कली भुटानी शणरार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्नलाई कानुनी दायरमा ल्याउन अन्तर्राष्ट्रिय समुदायले चासो देखाएका छन् । पूर्वगृहमन्त्रीदेखि राज्यसंयन्त्रकै मिलेमतोमा भएको यो प्रकरणमा मुछिएका सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारलाई चौतर्फी दबाब परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै यो प्रकरण सामसुम नपार्न ज्ञापनपत्र बुझाएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरुले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएपछि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकारसँग यो विषय नेपाली जनताको मात्र नभएर अन्तर्राष्ट्रिय जगतकै चासोको विषय भएको बताए ।

शाहीले अमेरिकाकै दबाबमा अहिले छानबिन भइरहेको प्रधानमन्त्रीबाट घुमाउरो ढङ्गले बुझेको सुनाए । ‘प्रधानमन्त्रीको आशय बुझ्दा यो नेपालीहरुको भन्दा पनि अमेरिकी कानुनले ज्यादा दबाव दिएर यो काम भएको महसुस भयो र स्वयम् प्रधानमन्त्रीले यो कुरा घुमाउरो पारामा भन्नुभयो । यसमा नेपाली मात्र हैन अन्तर्राष्ट्रिय जगत लागेको छ, सयुक्त राष्टसंघ, शरणार्थीमा काम गर्ने दातृ निकायदेखि स्वयम् अमेरिका यसमा चिन्तित छ’, उनले भने ।

मन्त्रीमात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका मानिसहरुसमेत यस प्रकरणमा जोडिएका तर कुनै कानुनी प्रक्रिया नथालिएको भन्दै उनले गुनासो गरे । अडियो बाहिरिदासमेत शीर्ष नेताका नजिकका मानिसहरु खुलमखुल्ला हिडिरहेको भन्दै उनले नियन्त्रणमा लिएर छानबिन थाल्न सुझाब दिए ।

उनले यो प्रकरण मात्र नभएर पञ्चायतकालदेखि अहिलेसम्म उच्च ओहोदामा बसेकाहरुको सम्पती छानबिन गर्नुपर्ने माग पनि गरे ।

राप्रपाले भ्रष्टाचारीविरुद्ध आज दिउँसो ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री प्रचण्डलाई एकैसाथ ज्ञापनपत्र बुझाएकोे राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिए ।