नौ महिनामा महँगी ८ प्रतिशत नजिक, सबैभन्दा बढी काठमाडौंमा

नौ महिनामा महँगी ८ प्रतिशत नजिक, सबैभन्दा बढी काठमाडौंमा

कहिरन समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन-चैत)को तथ्याङ्कमा आधारित प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदन अनुसार चालु वर्षको पहिलो नौ महीनामा उपभोक्ता मूल्यवृद्धिदर औसतमा ७.९१ प्रतिशत रहेको छ । गत आर्थिक बर्षमा मूल्यवृद्धि दर ६.३२ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार चैतमा मात्रै मूल्यवृद्धि दर ७.७६ प्रतिशत छ ।

प्रतिवेदन अनुसार देशका अरु स्थानको तुलनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै मूल्यवृद्धि देखिएको छ । चैतसम्म काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत पुगेको छ । मूलयवृद्धि दर तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत छ ।

प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रु. १४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ । संघीय सरकारको खर्च रु. ९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु. ६८३ अर्ब ८१ करोड रहेकोछ । विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेकोछ ।

हेर्नुहोस राष्ट्र बैंकको प्रतिवेदन