विदेशबाट फर्कने नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने

विदेशबाट फर्कने नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने

कहिरन समाचार

काठमाडौं । सरकारले विदेशबाट फर्कने नेपालीलाई दुई वटा मोबाइल ल्याउन दिने भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस अघि वैदेशिक रोजगारीमा जानेहरूले ल्याउन पाउने संख्यामा थप एक मोबाइल फोन ल्याउन पाउने निर्णय गरेको जानकारी दिइन् । उनले यसका लागि आवश्यक गृहकार्य गरेर संचार मन्त्रालय र श्रम मन्त्रालयले तयारी गरेर लागू गरिने बताइन् ।

हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।

यस्तै बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । सहकारीका समस्या पहिचान गरी त्यसको समाधान गर्न नीतिगत र कानुनी सुधारका विषयहरु समेत सिफारिस गर्नेगरी कार्यदल गठनको निर्णय भएको सन्चारमन्त्री शर्माले जानकारी दिइन् ।

यस्तै ढल्केवर वाणगंगा १३२ केभी प्रशारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय पनि भएको उनले बताइन् । साथै ई-समिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको उनले बताइन् ।