शरणार्थी प्रकरणमा थप २ बिचौलिया पक्राउ

शरणार्थी प्रकरणमा थप २ बिचौलिया पक्राउ

कहिरन समाचार

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ बिचौलियालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको बानेश्वर क्षेत्रबाट मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी रहेको कार्यालयका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार उनीहरूले उक्त घटनामा बिचौलियाका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो ।

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी‚ टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।

पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । साथै उनलाई पक्रन ७७ जिल्लामा परिपत्र गरिएको छ ।

जिल्ला प्रहरी परिसरले उनीहरूविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जना पीडितले २० वटा जाहेरी दिएका छन् ।

पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइसकेको पनि एसपी रेग्मीले जानकारी दिए ।