काठमाडौं महानगरका अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं महानगरका अव्यवस्थित तार हटाउन थालियो

कहिरन समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन थालिएको छ । इन्टरनेट सेवाप्रदायक संस्था, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी र महानगर प्रहरी बलको टोलीले अव्यवस्थित तार हटाउन थालेको हो ।

आइतबार इन्टरनेट सेवाप्रदायक संस्था, दूरसञ्चार प्राधिकरण र महानगरबीच अव्यवस्थित तार हटाउने सहमति भएको थियो । सोही सहमति अनुसार सोमबार बिहानदेखि हटाउन शुरू गरिएको हो। बिहान माइतीघर मण्डला र न्यूरोडगेटबाट तार हटाइएको थियो ।

पहिलो चरणमा माइतीघर मण्डल, नयाँ बानेश्वर, एअरपोर्ट, न्यूरोड, वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय भएको छ । ती क्षेत्रमा सेवाप्रदायकले आआफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिए सेवाप्रदायक नै जिम्मेवार हुनुपर्ने सहमति भएको छ ।

काठमाडौं महानगरले वैशाख ११ गते सडक किनारामा गाडिएका बिजुलीका पोलमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा सङ्केत चिह्न लगाउन १५ दिने सूचना जारी गरेको थियो ।