अर्थतन्त्रको समस्या मौद्रिक नीतिमार्फत समाधान गछौँ : अर्थमन्त्री महत

अर्थतन्त्रको समस्या मौद्रिक नीतिमार्फत समाधान गछौँ : अर्थमन्त्री महत

कहिरन समाचार

काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतले लचिलो मौद्रिक नीति मार्फत अर्थतन्त्र चलायमान बनाउने बताएका छन् । अर्थतन्त्रमा देखिएको समस्याको समाधान वित्त नीति (बजेट) भन्दा मौद्रिक नीतिले गर्न सक्ने अर्थमन्त्री महतको धारणा छ ।

बैक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै अर्थमन्त्री महतले वित्त नीतिबाट पूँजी परिचालन नसकेको तथा कोरोना महामारीका क्रममा मौद्रिक उपकरण मार्फत अत्यधिक कर्जा प्रवाह भएको बताए ।

उनले भने, “अहिले सरकारसँग वित्तीय स्रोतसाधन कम छन् । त्यसैकारण मौद्रिक क्षेत्रमा लचकताको नीति समातेर अर्थतन्त्र चलायमान बनाउन सकिन्छ ।”

नेपाल राष्ट्र ब्यांकका अधिकारीहरूले मौद्रिक नीतिको समीक्षा मार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाएको पनि उनले बताए । “राष्ट्र ब्यांकले लचिलो मौद्रिक नीति लियो भने ब्याजदर घट्छ भन्ने विश्वास छ । लचिलो मौद्रिक नीति लिंदै मौद्रिक उपकरण मार्फत आर्थिक गतिविधि बढाउनुपर्छ,” उनले भने ।

अर्थ मन्त्रालयको नेतृत्व गरेका महतले नीतिगत सुधार र सरकारी बजेट कार्यान्वयनमा प्रभावकारिता मार्फत अर्थतन्त्रको गति बढाउने विषयलाई भन्दा केन्द्रीय ब्यांकको मौद्रिक नीतिलाई परिवर्तन गर्ने सार्वजनिक रूपमा बताएका हुन् । मौद्रिक नीति तय गर्ने स्वायत्त निकाय राष्ट्र ब्यांक भए पनि अर्थमन्त्री महतले त्यस्तो स्वायत्ततालाई अस्वीकार गरेको देखिएको छ ।

महतले भने, “पूँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी छ। आउँदो वर्ष हामीले अर्थतन्त्रलाई गतिशीलताको बाटोमा लगे पनि राजस्वमा व्यापक वृद्धि हुने अवस्था छैन ।”

उनले कामप्रतिको उदासीनताका कारण सरकारी खर्च प्रणाली प्रभावकारी नभएको बताए । साधारण खर्च र अनुत्पादक खर्च कम गर्न पहल गर्ने र पूँजीगत खर्चको प्रभावकारिता बढाउने उनको भनाइ थियो ।