सुनुवाइ समितिमा ३ दिनभित्र नाम पठाउन सभामुखको निर्देशन

सुनुवाइ समितिमा ३ दिनभित्र नाम पठाउन सभामुखको निर्देशन

कहिरन समाचार

काठमाडौ । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र कार्यव्यवस्थामा प्रतिनिधित्व गर्ने नेताहरूलाई तीन दिनभित्र समितिहरूमा रहने सदस्यहरूको नाम बुझाउन निर्देशन दिएका हुन् ।

संसद्‍को संसदीय सुनुवाइ समिति गठन नहुँदा प्रधानन्यायाधीश, न्यायाधीश लगायतको नियुक्ति प्रक्रिया हुन सकेको छैन । त्यस्तै, संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति पनि गठन भएको छैन । यी दुवै समितिमा रहने सदस्यहरूको नाम तीन दिनभित्र बुझाउन सभामुखले निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभाबाट संसदीय सुनुवाइमा बस्नेको नाम पठाइसकिएको छ भने प्रतिनिधिसभामा बस्नेको नाम राजनीतिक दलहरूले बुझाउन बाँकी नै छ । दुवै समितिमा १५/१५ सदस्य हुन्छन् जसमध्ये १२ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रिय सभाबाट हुने कानुनी व्यवस्था रहेको छ ।