काठमाडौमा ट्याक्सी व्यवसायीको आन्दोलन, आफैंले राखे पार्किङ बोर्ड

काठमाडौमा ट्याक्सी व्यवसायीको आन्दोलन, आफैंले राखे पार्किङ बोर्ड

कहिरन समाचार

काठमाडौ । काठमाडौमा ट्याक्सी व्यवयसायीहरु आफैंले पार्किङ बोर्ड राखेर आन्दोलित भएका छन् । काठमाडौं महनागरपालिकाले सडक किनारमा पार्किङको व्यवस्था हटाएको भन्दै ट्याक्सी व्यवयसायीहरु आन्दोलित भएका हुन् ।

महानगरका विभिन्न क्षेत्रमा ट्याक्सी व्यवसायीहरु आफैंले पार्किङ बोर्ड राखेर ट्याक्सी पार्किङ गरेर विरोध जनाएका छन् । ट्राफिक प्रहरीका अनुसार ट्याक्सी चालकहरुले राखेका स्ट्यान्ट हटाउन खोज्दा केही बेर मैतीदेवी चोकमा सडकमै व्यवसायीहरुले ट्याक्सी तेर्साएका थिए । अहिले भने मैतीदेवीमा करिब २५ वटा ट्याक्सीहरु एक साइटमा पार्किङ गरेर विरोध गरेका छन् ।

टयाक्सी व्यवसायीको विरोधले मैतिदेवीमा सवारी आवागमन एक घण्टा अवरुद्ध भएको थियो । अवरुद्ध गर्ने ५ जना ट्याक्सी व्यवसायीहरु ट्राफिक प्रहरी सहित महानगरपालिकामा वार्ताको लागि गएको जनाइएको छ ।

काठमाडौं महानगरपालिकाले भने अनधिकृत रुपमा ट्याक्सी पार्किङ गरेर समस्या सिर्जना गरेको बताएको छ । ‘हामीले पार्किङ दिन नमिल्ने ठाउँमा बोर्ड हटाएका थियौं, अहिले सुन्धारा मैतीदेवी लगायत स्थानमा आफैंले बोर्ड राखेर ट्याक्सी पार्किङ गरिरहेका छन्’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

उनले महानगरपालिका र ट्राफिक प्रहरीसँग छलफल नै नगरी अनधिकृत बोर्ड राखेको भन्दै महानगरपालिकाले सम्बन्धित वडा कार्यालय, ट्राफिक प्रहरसँग छलफल गरेर कारबाही गर्ने बताए ।

ट्याक्सी व्यवसायीहरु भने महानगरपालिका र ट्राफिक मिलेर सबैतिर ट्याक्सीलाई पार्किङ गर्न नदिएको भन्दै आन्दोलन गरेका हुन् ।